पर्वत कांग्रेसमा लालकाजी र नबराज गुरुङ्ले एकअर्कालाई सहयोग गर्ने घोषणा-रेडियो कुशुम

नेपाली कांग्रेस पर्वतका नेता कार्यकर्ताहरु यतिबेला १४ औ जिल्ला अधिबेशनको तयारीका लागि क्रियाशिल सदस्यता नविकरणको अभियानमा छन ।जिल्ला अधिबेशन देखि केन्द्रिय अधिबेशन सम्म आफ्नो प्रभुत्व स्थापित गर्नका लागि क्रियाशिल सदस्यता बितरण देखि नै चलखेल शुरु हुन्छ । वडा समिति देखि जिल्ला समिति सम्म प्रभाब जमाउनका लागि नेताहरु आफुँलाई सहयोग गर्ने क्रियाशिल सदस्यहरुलाई नविकरण गर्न घरदैलो, भेला, टेलिफोन गरेर सक्रियता बढाईरहे्का छन ।
अधिबेशनका लागि क्रियाशिल सदस्यता नविकरण अभियानकै क्रममा आइतबार दुर्लुङ्गमा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुको भेला भएको थियो । कांग्रेस दुर्लुङ्गका सभापति बालकृष्ण सुबेदीको अध्यक्षतामा भएको भेलामा एक सय भन्दा बढी सदस्यहरु जम्मा भएका थिए ।
भेलाका सहभागीहरुका अनुसार नेपाली कांग्रेस दुर्लुङ्गको भेलामा आइतबार बिगत भन्दा असाध्यै फरक दृश्य देखियो । एउटै परिवारका दाजु भाई भएपनि सधैं ‘कुकुर र बिरालो’ जस्तै झगडा गरिरहने संघीय साँसद तथा कांग्रेस पर्वतका पुर्वसभापति लालकाजी गुरुङ्ग र पुर्व सभापति नबराज गुरुङ्गको आवाज एउटै सुनियो । संघीय साँसद लालकाजी नातामा नवराज गुरुङ्गका दाजु हुन । नवराज गुरुङ्गले लालकाजीलाई सम्बोधन गर्दै आज सम्म दाजुभाई एक ठाउँमा नउभिँदा राजनितीमा सफलता असफलता बेहोरेको चर्चा मात्रै गरेनन अब दाई(लालकाजीं)को आर्शिबाद र सहयोग नलिई कतै नउभिने घोषणा पनि गरे । उनी दाजुभाई लडाएर फरक ब्यक्तिले राजनितीमा फाइदा लिएकोमा पश्चतापको शैलीमा प्रस्तुत भए । नवराजको त्यो प्रस्तुतिपछि लालकाजी गुरुङ्गले पनि भने ‘अब कसैको पछि लाग्दैन भने तलाई मेरो सहयोग हुन्छ।’ लालकाजी गुरुङ्गले नवराजलाई समर्थन गर्ने घोषणा गरेपछि शंकर गुरुङ्ग लगायतका कार्यकर्ताले लालकाजीको भनाईको तत्कालै प्रतिबाद गरेपनि उल्टै प्रतिबाद गर्नेहरुलाई उनले सम्झाएको सहभागीले बताए । ‘अब नवराजले मेरो सहयोग खोजेर अघि बढ्छ भने मेरो समर्थन हुन्छ।’ उनले कार्यकर्ताका बिचमा भने‘मेरो उत्तराधिकारी नवराज हो, यसलाई सबैले सहयोग गरम।’
दाजु भाई बिचको असमझदारी यस अघि निक्कै रोचक थियो । नवराज गुरुङ्ग २०४८ सालमा प्रतिनिधभामा उम्मेदवार हुँदा लालकाजी गृुरुङ्गले खुलेर सहयोग गरेनन भने २०५१ मा त घर चिन्ह लिएर स्वतन्त्र उमेदवार नै बने । २०४८ सालमा नवराज गुरुङ्ग पराजित भए । नबराज सधैभर कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवाहरुकै पक्षमा लागि रहे । पार्टी बिभाजनपछि शेरबहादुर देउवाकै पछि लागेर प्रजातान्त्रिक कांग्रेसको सभापति बने । पार्टी एकिकरण पछि जिल्ला सभापति बने तर १२ औ जिल्ला अधिबेशनमा लालकाजी गुरुङ्ग जिल्ला सभापतिमा उमेदवार हुँदा नवराजले खगेन्द्र तिवारीलाई सभापतिको उमेदवार बनाएर हिँडे । लालकाजी गुरुङ्ग सधै कोइराला खेममा रहे । गएको राष्ट्रिय महाधिबेशनमा अर्जुनप्रसाद जोशी सहित जिल्लाका धेरै रामचन्द्र पौडेल खेमालाई छाडेर देउवाका पक्षमा लाग्दा पनि लालकाजी गुरुङ्ग रामचन्द्र पौडेलकै प्रस्ताबक बनेर अर्जुन जोशी संगको सहकार्य तोडे । लालकाजीलाई जिल्ला सभापति बनाउन सबै हतकण्डा अर्जुनप्रसाद जोशीले नै अपनाएका थिए । त्यसपछि भने दुई ध्रुबमा उभिएकामा लालकाजी अहिले पनि पौडेल खेमामा नै छन भने नबराज गुरुङ्गले देउवा खेमा छाड्ेका छैनन ।
देउवा खेमामै भएपनि अर्जुनप्रसाद जोशी र नबराज गुरुङ्ग एक ठाउँमा उभिएका देखिदैनन । अहिले पनि पार्टीका कार्यकर्ता भेटघाट लगायतका सबै गतिबिधीमा छुट्टाछुट्टै उभिएको देखिन्छ । लालकाजी गुरुङ्ग, नवराज गुरुङ्ग, बसन्तबहादुर सिके, राम शर्मा लगायतका नेताहरु एउटै मञ्च र कार्यक्रममा देखिन्छन । नवराज गुरुङ्गले देउवा समुह छाडेको त देखिदैन तर सहकार्य देख्दा अर्जुनप्रसाद जोशी देउवाको पक्षमा लागेका कारण उनले खेमा परिर्वतन गर्ने त होइनन भनेर केही कांग्रेस कार्यकर्ताहरु अनुमान गरिरहेका छन । नवराज गुरुङका एक जना बिश्वासिला जिल्ला नेताले दाजुभाईको दोष्तीका बिषयमा भने‘अहिले नवराज र लालकाजी दाईले भात खानु र सुत्नु अघि दिनमा दुई पटक कुरा नगरि बस्दैनन्’ यो दोस्ती अहिले भनै १३ औ जिल्ला अधिबेशनबाटै शुरु भएको ती नेताले खुलासा गरे । लालकाजी गुरुङ्ग महाधिबेशन प्रतिनिधीमा हार्ने अबस्था आउने देखेर नवराज गुरुङ्गले आफ्ना बिश्वासिला मानिसलाई लालकाजीको पक्षमा मतदान गराएका थिए । ‘त्यसपछि नै दाजुभाईको बिचमा सुमधुर सम्बन्ध बनेको हो ।’ उनले भने ।
पर्वतको राजनितीमा कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गले निक्कै प्रभाब राख्छ । पञ्चायत देखि नै पर्वत राजनितीमा एक ठाउँबाट दुर्लुङ्गले नेतृत्व गरिरहेको हुन्छ । दुर्लुङ्ग र दुर्लुङ्गका नेताको भूमिकाका कारण प्रत्यक्ष रुपमा पर्वत राजनिती देखि दल बिशेषको राजनिती पनि प्रभावित हुन्छ । यस पटक पनि संघीय संसदमा पर्वतबाट प्रतिनिधित्व गर्ने दुई जना सदस्य नै दुर्लुङ्गका हुनु पनि राजनितीमा दुर्लुङ्गको प्रभाब कस्तो छ भनेर तुलना गर्ने एउटा आधार हो ।
दुर्लुङ्गमा कार्यकर्ता भेटघाटका क्रममा देखिएको दृश्य जस्तै जिल्ला अधिबेशनमा पनि लालकाजी गुरुङ्ग र नबराज गुरुङ्ग एकले अर्कालाई सहयोग गर्ने वातावरण बनेमा पर्वत कांग्रेसमा फरक परिस्थिति पनि बन्न सक्ने अनुमान गर्न थालिएको छ । देउवा खेमामा रहेका अर्जुनप्रसाद जोशी सहमहामन्त्रीका आकाँक्षी हुन । उनलाई देउवाले आफ्नो टिमबाट सहमहामन्त्रीमा उमेदवार बनाउने संभावना बढी छ । यद्यपी देउवा खेमाकै नेता बिमलेन्द्र निधीले नवराज गुरुङ्गलाई काखी च्याप्दै आएका छन । नवराज गुरुङ्ग पनि निधीको जोडबलमा अर्जुनप्रसाद जोशी उमेदवार हुने पदमा चुनाब लड्न पछि नहट्ने स्वभाबका ब्यक्ति हुन । नवराजका सुभेच्छुकहरु यस पटक अर्जुनप्रसाद जोशी संग एउटै पदमा भिड्न भन्दा जनजाति कोटाबाट केन्द्रिय सदस्य पद सुरक्षित गर्दा उनका लागि फाइदा पुग्ने बिश्षलेण सुनाउँछन ।पर्वत कांग्रेसमा अहिले संस्थापन भनिएको देउवा खेमाबाट अर्जुनप्रसाद जोशी निकट रामचन्द्र जोशी, युबराज जोशी, रामकृष्ण मल्ल, गंगाधर तिवारी लगायतका नेताहरु सभापतिका लागि भित्रभित्रै तयारी गरिरहेका छन । देउवा समुहकै भएपनि नवराज गुरुङ्ग संग सधै निकट रहदै आएका बिश्वप्रकाश प्रसाईले पनि सभापतिका लागि तयारी गरिरहेका छन । कोइराला परिवार सहितको रामचन्द्र पौडेल खेमाबाट बसन्तबहादुर सिके, राम शर्मा पौडेल, गंगाराज शर्मा, दुर्गाबहादुर खत्री लगायतका नेताहरु पनि सभापति पदका आकाँक्षी छन । न्यु कालीगण्डकी दैनिकबाट

You might also like More from author

Comments are closed.