गोबिन्द पहाडी अध्यक्ष भय पछि -काँचुली फेर्दै पर्वत अस्पताल

केही समययता स्वास्थ्य सेवा, सुशासन, आर्थिक उपार्जन, कर्मचारी व्यवस्थापन तथा परिचालन, उपकरण लगायतका क्षेत्रमा अस्पतालले फड्को मारेको छ

कुनै बेला सामान्य टाउको दुखे पनि अस्पताल आउँदैनथे बिरामी । पर्वत जिल्ला अस्पतालको पोषण गृहमा आएका कुपोषित बालबालिकालाई स्वास्थ्यकर्मीले नै फर्काइदिएका उदाहरण थिए । हिजोआज भने भिडियो एक्सरे अस्पतालभित्रै हुन्छ । अहिले पोषणगृहमा बच्चा ल्याउन आग्रह गरिएको छ । दाँतका विशेषज्ञ डाक्टर चौबीसै घण्टा उपलब्ध छन् । यीमात्रै होइन, २ वर्षयता जिल्लाको एकमात्रै सरकारी अस्पतालमा थुप्रै सुविधा विस्तार भएका छन् । २०४६ मा १५ बेडको स्वीकृति पाएर सञ्चालित अस्पताल अहिले आन्तरिक स्रोतबाटै ३० बेड क्षमतामा पुर्‍याइएको छ । कुनै समय अस्पतालमा सुत्केरी गराउनै नमान्नेहरू हिजोआज अन्यत्र जाँदैनन् । प्रसूति वार्डमा कार्यरत अनमी सुनीता कुँवरका अनुसार महिनामा ५०–६० जनासम्म सुत्केरी अस्पतालमै भएका छन् ।केही समययता स्वास्थ्य सेवा, सुशासन, आर्थिक उपार्जन, कर्मचारी व्यवस्थापन तथा परिचालन, उपकरण लगायतका क्षेत्रमा धेरै फड्को मारेको छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार चालु वर्ष अस्पतालले मिर्गौलाको डायलाइसिस, पोषण पुनःस्थापना गृह, एकीकृत संकट व्यवस्थापन, सफ्टवेयर बिलिङ, कर्मचारीको सेवासुविधा तथा सेवामा चुस्तता, आम्दानी वृद्धि, प्रयोगशाला, एक्सरे लगायतमा सुधार भएको छ । ‘मुट्टुको इकोका लागि उपकरण जुटाएका छौं,’ पहाडीले भने । अस्पतालमा अहिलेसरकारले तोकेका औषधि र चौबीसै घण्टा सेवामा कमी नभएको उनले दाबी गरे ।

अस्पतालमा डायलाइसिसका लागि अन्तिम तयारी भइरहेको छ । फागुन अन्तिमदेखि डायलाइसिस थाल्नेगरी ६ स्टाफ नर्सलाई ३ महिने तालिम दिइसकिएको छ । डा.मानव तिवारी र सुरज नेपाली तालिममै रहेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.शिशिर देवकोटाले बताए । तत्कालका लागि ५ बेड क्षमताको डायलाइसिस सेवा सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक थाइराइड, मिर्गौला, मुटुरोगलगायत ३० बढी रोगको पहिचान हुनेगरी प्रयोगशाला सुधार गरिएको ल्याब टेक्निसियन अमृत सुवेदीले बताए । डिजिटल भिडियो एक्सरे तथा लैंगिक हिंसापीडितका लागि एकीकृत संकट व्यवस्थापन केन्द्र सञ्चालनमा छ । ‘धेरै पीडित नखुल्दा समस्या पहिचान गर्न समस्या हुन्थ्यो,’ केन्द्रका संयोजक डा.विष्णु भण्डारीले भने, ‘अहिले सहज छ ।’ केन्द्र स्थापनापछि दैनिकजसो घटनापीडितले समस्या राख्ने उनले बताए । अहिले बालबालिकाको लागि विशेष उपचार कक्ष, मानसिक स्वास्थ्य परीक्षण र उपचारसमेत सञ्चालनमा आउन लागेको अस्पतालले जनाएको छ ।

अस्पतालले सफ्टवेयर बिलिङ प्रणाली सञ्चालनमा ल्याएपछि आन्तरिक आम्दानीमा वृद्धि भएको समितिले जनाएको छ । ‘वर्षभरि ४४ देखि ४६ लाखमात्रै आम्दानी हुने गरेकोमा चालु आवको ६ महिनामा ५० लाख रुपैयाँ नाघेको छ,’ अध्यक्ष पहाडीले भने, ‘यही अनुपातमा जाँदा अर्धवार्षिक आम्दानी ७० लाख नाघ्नेछ ।’ विगतमा ५ देखि १० हजार रुपैयाँमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको पारिश्रमिक श्रम ऐनले तोकेभन्दा बढी दिइएको उनले दाबी गरे । सेवामा चुस्तता ल्याउन डिजिटल हाजिरी, पोसाक तथा कामको समय तालिकामा कडाइ गरिएको छ । ‘अहिले सवा १० बजेपछि आउने कर्मचारीलाई फिर्ता पठाउँछौं,’ देवकोटाले भने । सेवाग्राहीले पनि गुणस्तरमा सुधार भएकोमा खुसी व्यक्त गरेका छन् । ‘पहिला झाडापखाला भएर जाँदा पनि सेवा पाइन्थेन,’ फलेबास–४ का शोभाकान्त भुषालले भने, ‘अहिले सबैजसो सुविधा छ । सुधारभएको देख्दा खुसी लागेको छ ।’

जनशक्ति अभाव मुख्य चुनौती

१५ बेड क्षमताको अस्पतालमा सेवा विस्तार भएबमोजिम जनशक्तिको भने चरम अभाव छ । हाल समस्या पर्दा ३५ बेडसम्मको सुविधा दिइएको अस्पतालको दाबी छ । बेड क्षमता बढाएपछि सोहीअनुरुप बिरामीको चाप र सेवा बढे पनि जनशक्ति नबढ्दा सबै सेवा सहज नभएको हो । ‘एउटा सेवा दिन कम्तीमा एकैप्रकारका ३ जना जनशक्ति आवश्यक हुन्छ,’ अध्यक्ष पहाडीले भने, ‘हामीले हरेक सेवा एक/एक जनाको भरमा चलाइरहेका छौं ।’

अस्पतालका अनुसार अहिले इमर्जेन्सी सेवा पनि सहज छैन । इमर्जेन्सीमा मात्रै कम्तीमा १० प्यारामेडिक्स कर्मचारी आवश्यक हुने भए पनि एक/दुई जनाले मात्रै काम चलाइरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरंग, ल्याब, एक्सरेलगायत सबैतिर उस्तै समस्या भएको देवकोटाले बताए । ‘अझै पनि २/२ अहेब र अनमी खाली छ,’ उनले भने, ‘१५ बेडकै दरबन्दी पूरा नहुँदा ३० बेड बडो कष्टले चलाएका छौं ?’ ल्याब, एक्सरे, एम्बुलेन्स, इमर्जेन्सी लगायत सबैतिर समस्या देखिएको अस्पतालले जनाएको छ ।

बिरामीले चौबीसै घण्टा सहज सेवा पाउनेगरी सञ्चालन गर्न श्रम ऐनअनुसार एउटा सेवाका लागि कम्तीमा ३ कर्मचारी आवश्यक हुन्छ । अपरेसन सेवा सञ्चालन गर्न विशेषज्ञ डाक्टरका साथमा एक एनेस्थेसिया आवश्यक हुन्छ । तर, एनेस्थेसिया कर्मचारीको अभावमा करिब एक वर्षसम्म एक्सरे सेवा अवरुद्ध भएको थियो । अस्पतालका अनुसार अहिले २ एमडीसहित ९ करारका डाक्टर कार्यरत छन् । त्यसबाहेक अत्यावश्यक सेवाका लागि समितिले करारमा नियुक्त स्वास्थ्यकर्मीबाट काम चलाइएको अध्यक्ष पहाडीले बताए । ‘५० बेडको भवन बन्दैछ । अनुमतिका लागि पनि लडिरहेका छौं ।’ उनले भने, ‘माग पूरा भएपछि सहज हुने अपेक्षा छ ।’

You might also like More from author

Comments are closed.