महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी :बागलुङ महोत्सवको मंचबाटै घोषणा

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेका छन् । आगामी चैत अन्तिम साता काठमाण्डौमा हुने महाधिवेसनका लागि उमेदवारी घोषणा गर्दै ढकालले नेपालको हित र नेपालीको रोजगारी बढाउने अभियानमा निरन्तर साथ दिने बताएका छन् । दुइ दिन देखि गृह जिल्ला बागलुङमा आएका ढकालले जिल्ला र अन्य छिमेकी जिल्लाका उद्योग बाणिज्य संघका पदाधिकारीको सल्लाहपछि उमेदवारी घोषणा गरेको बताएका छन् । बुधवार आँफैले पढेको बिद्यालय पृथ्वी हिरण्य माबिको बार्षिकोत्सवमा सहभागि भएपछि सदरमुकाम फर्केका ढकालले बिहिवार दिनभर व्यवसायीको सम्पर्कमा रहेका थिए । बिहिवार बेलुका भएको उज्यालो बागलुङ, समृद्ध बागलुङ नामक लगानी सम्मेलनमा भाग लिएपछि उमेदवारी घोषणाको अबस्थामा पुगेका हुन् ।
शुक्रवार बिहान ११ बजेनै घोषणा गर्ने कार्यक्रम भएपनि बागलुङ महोत्सवको तयारीमा व्यवसायी जुटेपछि मंचबाटै उनले घोषणा गरेका हुन् । महोत्सवको मंचबाट बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले ढकालको नाम प्रस्ताव गरेपछि सबै व्यवसायीले समर्थन गरेर ढकालले उमेदवारी घोषणा गरे । घोषणासभामा गण्डकी प्रदेशका सबै जिल्लाका उद्योग बाणिज्य संघका पदाधिकारी सहभागि थिए । उनीहरु सबैले फूल माला लगाएर ढकाललाई उमेदवारमा समर्थन गरेका थिए । ठूलो संख्यामा उपस्थित भएका व्यवसायीले उनको उमेदवारीलाई साथ दिने बताएका थिए ।
ढकालले बागलुङमा जन्मेको नाताले बागलुङमै केही गरेर देखाउने तयारी गरेको समेत बताए । उनले उक्त तयारीलाई केही समयमै देखाउने अबस्थामा पुगेको भन्दै काम नबन्दै घोषणा गराउन भने नचाहेको बताए । ढकालले बागलुङमा उद्योग व्यवसायमा लगानी गर्ने मात्र नभई सामाजिक उत्तरदायित्वको काममा पनि लगानी गरेको बताए । ‘मैले ‘सिएचआर’ सामाजिक उत्तरदायित्वको काम मार्फत पनि अमलाचौरको बिद्यालय निर्माण, स्वास्थ्यचौकी निर्माण र विभिन्न क्याम्पसको पूर्वाधार निर्माणमा साथ दिएको छु’ ढकालले भने, ‘अन्य लगानीबाट रोजगारी बढाउने अभियान पनि थाल्ने प्रतिवद्धता जनाउँछु ।’ उनले संभावना, लगानीको सुरक्षा र स्थानीय सरकारको साथ समेतबाट काम गर्ने योजना पनि सुनाएका थिए । महासंघले बरिष्ठ उपाध्यक्षमा निर्वाचन गराउने र निर्वाचितलाई आगामी कार्यकाल स्वतह अध्यक्षको पद दिने चलन बसालेको छ । त्यसैले महासंघमा बरिष्ठ उपाध्यक्षको पदको निर्वाचनलाईनै महत्वपूर्ण निर्वाचनको रुपमा लिन थालिएको छ ।

You might also like More from author

Comments are closed.