उद्योगको बिकासले देशमा समृद्धि : तिमिल्सिना

कला संस्कृतिको संरक्षण, पर्यटन, उद्योग तथा व्यपारको प्रवद्र्धन भन्ने मुल नाराका साथ शुक्रवारदेखि छैठौ बागलुङ महोत्सव सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रवार महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै तिमिल्सिनाले उद्योगको बिकासले देशले चाहेको समृद्धि आउन सक्ने बताए । उनले आम नागरिकलाई रोजगार बढाउने उद्योगको बिकासमा सबै लगानीकर्ताको ध्यान जानुपर्ने समेत बताए । ‘बाणिज्यको बिकासले व्यक्तिगत फाइदा हुन्छ, तर उद्योगको बिकासले आम नागरिक रोजगार बन्ने र राज्यलाई राजश्व बढ्छ’ उनले भने, ‘उद्योगको बिकास गर्दा बिदेशी आयात कम गर्न सकिन्छ ।’ स्थानीय उत्पादनलाई प्राथमिकता दिन सकेमा ग्रामीण बासिन्दाले पनि फाइदा कमाउन सक्ने उनले बताए ।

संविधान सबैको स्विकार्यमा बनेझै हरेक कानून निर्माणमा पनि उद्योगी,व्यवसायीलाई सहयोग गर्न तिमिल्सिनाले आग्रह गरे । यातायातको सिण्डीकेट हटाउने देखि हरेक प्रकारका कानून निर्माणमा व्यवसायीले साथ दिएमा छिटो हुने बताए । राष्ट्रिय राजमार्ग निर्माणमा भएको ढीलाई प्रति उनले चासो राखेका थिए । उनले बिकासलाई तीब्रता दिन निर्माण व्यवसायी र उद्योग बाणिज्य संघका अगुवाहरुको पनि चासो बढ्नुपर्नेमा उनले जोड दिए । उनले कला र संस्कृति संरक्षणमा मेला महोत्सव गर्ने चलनले स्थानीय उत्पादनको बिकास समेत भएको बताए । तिमिल्सिनाले सबै क्षेत्रमा सडकको बिकास र पहुँच बढाउन राज्यको लगानी चाहिने भन्दै बागलुङ र पर्वत भनेर बाडिनु भन्दा दुवै तर्फ बिकास गर्न सबैको साझा पहल हुनु आवस्यकता रहेको पनि बताएका थिए ।

२०२० सालमा स्थापना भएको बागलुङ उद्योग बाणिज्य संघले २०५९ सालमा तत्कालिन अध्यक्ष सहदेव राजभण्डारीको पालामा पहिलो महोत्सव गरेको थियो । उक्त महोत्सवलाई हरेक दुइदुइ बर्षमा गर्ने चलन अनुसार अहिले छैठो महोत्व भएको हो । सुरुवातका केही समय भने महोत्सव रोकिएको थियो । संघले आयोजना गरेको महोत्सवमा नेकपा स्थायी कमिटि सदस्य तथा सांसद देबेन्द्र पौडेल, प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठक, नेकपाका इन्चार्ज बलाबती शर्मा, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, संघको गण्डकी प्रदेश अध्यक्ष संजीब कोइराला, संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बिराटकुमार श्रेष्ठ, धौलागिरी बहुमुखी क्यामपसका प्रमुख रामप्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुको धन्यवाद, महासचिव नरेश कंडेल र निर्वतमान अध्यक्ष जयराम भारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजकका अनुसार मेलामा मेलामा झण्डै २ सयबढी व्यपारिक स्टलहरु राखिएका छन् । ती स्टलमा कृषि, घरेलु उद्योग, भाँडाकुँडा, होटल र स्थानीय उत्पादनहरुको प्रद्र्धशनी समेत गरिएको छ ।

महोत्सवकै अवसर पारेर शनिवारदेखि खुला भलिबल प्रतियोगिता आयोजना गरिने बताइएको छ । लोकदोहोरी गीत प्रतियोगिता तथा बिभिन्न नृत्य र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवको उद्घाटन सत्रमा पूर्व अध्यक्षहरु बिराटकुमार श्रेष्ठ र हरिप्रसाद श्रेष्ठ लगायत बिभिन्न अबसरमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । हालै सम्पन्न भएको साग खेलकुँद प्रतियोगितामा स्वर्णपदक पाउने सहित अन्य पदक पाउने खेलाडीलाई पुरस्कार र सम्मान गरिएको थियो । संघले महोत्सवको गरिमा बढाउन बिहिवार बेलुकी बरिष्ठ उद्योगीको उपस्थितिमा लगानी बहस पनि गराएको थियो । महोत्सवले बागलुङको बिकासका संभावना खोजी गर्ने समेत व्यवसायीले बताएका छन् । महोत्सव उद्घाटन अघि सयौंले बजार परिक्रमा गरेर झाँकी तथा ¥याली प्रद्र्धशन गरेका थिए ।

You might also like More from author

Comments are closed.