‘उज्यालो बागलुङ :समृृद्ध बागलुङ ’ लगानी सम्मेलन

नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड नेपालीमाझ परिचित छ । हो, यिनै नामले भन्दा ब्राण्डले चिनिएकाहरु विहीबार बागलुङमा एउटै मञ्चमा देखा परे । बागलुङ उद्योग वाणिज्य संघले बागलुङ महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको ‘उज्यालो बागलुङ :समृृद्ध बागलुङ ’ शीर्षकको लगानी सम्मेलनमा उनीहरु वक्ता बनेर मञ्चमा देखिएका हुन् । उनीहरुसँगै विशिष्ठ वक्ताको रुपमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ पनि सामेल भए । प्रभु बैंकका कार्यकारी निर्देशक अशोक सेरचनले उनीहरुसँग संवाद गरे । अशोकले ब्राण्डले चिनिएका तीन जनासँगै पालैपालो सोधे, ‘बागलुङमा तपाईंको तर्फबाट कस्तो लगानी होला ?’ सबैले लगानीबाट प्रतिफल चाहिने र प्रतिफल दिने देखिए बागलुङमा पनि लगानी गर्न सकिने बताए । बागलुङमै जन्मेका चन्द्रले पर्यटनमा लगानी गर्नेबारे कुरा भइरहेको बताए । मीनबहादुरले जग्गा पाए १० महिनाभित्र बागलुङमा भाटभटेनी खोल्ने घोषणा गरे । शेखरले चाहिँ अर्गानिक कृषिसँग जोडिन सके लगानी गर्न सकिने धारणा राखे । लगानी सम्मेलन भनिए पनि कार्यक्रम करिब अन्तरसंवाद जस्तो देखियो । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइराला लगायतले सुझाव राखेका थिए ।

अनुदानको भरमा व्यवसाय चल्दैन
– किरण गुरुङ (गण्डकी प्रदेश अर्थमन्त्री)

अनुदानको भरमा अब कुनै व्यवसाय चल्दैन । सरकारले सुविधा दिने हो, अनुदान हैन । मागेर गरिएका कुराहरु लामो समयसम्म टिक्दैन । राज्यले सुरक्षा दिन्छौँ, नीति बनाइदिन्छौँ । निजी क्षेत्रले नै व्यवसाय गर्ने हो । मन्त्री गुरुङले नेपालमा व्यवसाय गर्दा झन्झट धेरै भएको स्वीकार्दै पुराना कानुन फेरेपछि ती समस्या समाधान हुने दाबी गरे । उनले तीन तहका सरकार बने पनि पुरानै कानुनले काम गर्नु परेको बताउँदै नयाँ कानुन निर्माणको आवश्यकता रहेको उल्लेख गरे । ‘संघले सबै अधिकार प्रदेशलाई दिएको पनि छैन, स्थानीय निकायलाई दिन सकिएको छैन’, उनले भने, ‘अधिकारहरु बाँडफाँड हुनुपर्छ ।’

नेपालमा उत्पादन लागत नै बढी
– शेखर गोल्छा

लगानी गर्नेलाई प्रतिफल दिए मात्र लगानी भित्रिन्छ, ठाउँको माया गरेर गरिने लगानीले रोजगारी सृजना हुँदैन । नेपाल सरकारपछि सबैभन्दा धेरै रोजगारी हामीले नै दिएका छौँ । तर, यतिले मात्र हुँदैन, हामी थप रोजगारी सृजना गर्न चाहन्छौँ । नेपालमा उत्पादन गर्नुभन्दा आयात गर्दा सस्तो हुन्छ, अहिले आफ्ना उत्पादनबाट पाउने पैसाले किसान कहिल्यै धनी हुँदैन । किसानलाई समृद्ध बनाउन नीति आउनुपर्छ । उनले सहज तरिकाले कर्जा नपाउनु, जग्गा महंगो हुनु तथा श्रम कानुन कडा हुँदा साना र मझौला उद्योगहरु फस्टाउन नसकेको बताए ।

लगानीको वातावरण छ तर उत्साहजनक छैन ः
–चन्द्र ढकाल

लगानीको वातावरण बनेको छ तर उत्साहजनक छैन । नेतामा विकास गर्ने हतारो छ तर पुरानो संरचनाले असर गरेको छ । व्यवसाय गर्दा नाफा हुनुपर्छ, राज्यलाई कर तिर्नुपर्छ वा राज्यको नीतिलाई सघाउनु प¥यो अनि व्यवसायले जनताको सेवा पनि गर्नुपर्छ । बागलुङमा केही न केही गर्ने रहर छ, यहाँका व्यवसायीहरुसँग मिलेर पनि पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ । उनले मलेसियाको विकास मोडलको चर्चा गर्दै काम गर्न खोज्नेलाई सरकारले सहजीकरण गरि राजश्व बढाउनु पर्नेमा जोड दिए । भुकम्प र नाकाबन्दीका बीचमा पनि हामीले २ वर्षमा चन्दागिरीमा केवलकार बनायौँ तर स्वीकृति लिन ५ वर्ष लाग्यो । हामी सबै प्रदेशमा केवलकार बनाउन चाहन्छौँ ।

भाटभटेनीमा दायाँबायाँको पैसा छ भन्नु झुट हो
– मीनबहादुर गुरुङ

मैले १०/१२ साईजको भाडाको कोठाबाट २०४१ सालमा ३५ हजारको लगानीमा व्यवसाय सुरु गरेको हो । थोरै लगानीमा पनि व्यवसाय सुरु गर्न सकिन्छ । व्यवसाय गर्न ठाउँ र मन सफा चाहिन्छ, उपभोक्ताप्रति जिम्मेवार हुनुप‍¥यो, कडा परिश्रम गर्नुप¥यो अनि पारदर्शी हुनुप‍¥यो । भाटभटेनीको पैसा दायाँबायाँबाट हैन कडा मेहनतले आएको हो । पत्रकारहरु भाटभटेनीको पैसा दायाँबायाँको कि भन्ने प्रश्न गर्छन, यो झुट हो । भाटभटेनी पारदर्शिताले चलेको हो । नेपालका सबै बैंक हामीसँग काम गर्न चाहान्छ्न् । जग्गा दिए १० महिनामा बागलुङमा भाटभटेनी खोल्छु । संसारभर भाटभटेनी खुलाउने मेरो लक्ष्य छ, संसारभर खुद्रा पसल खोल्ने पनि हामीजस्तै नाक, कान, घाँटी भएको मान्छे हो । अझ नेपालीमा त विशेष क्षमता छ । यहाँ व्यवसाय गर्न साह्रै गाह्रो छ । फलामको च्यूरा चपाएजस्तो छ, हामीलाई त फलामको च्यूरा चपाउने बानी प¥यो । तपाईँ (मन्त्रीहरु) ले गाँठो फुकाइदिनुहोस्, गाँठो ठूलो छ । तपाईँले हामीलाई एउटा कागज (व्यवसाय दर्ता प्रमाणपत्र) दिएबापत २०/२५ प्रतिशत राजश्व पाउनुहुन्छ । ट्याक्स चोर्ने काम नगरौँ ।

जनमंच अनलाइन बाट

You might also like More from author

Comments are closed.