पर्वत अस्पतालको गुणस्तरमा व्यापक सुधार भएको अध्यक्ष पहाडीको भनाई

पर्वत । पर्वत जिल्ला अस्पताल पर्वत जिल्लाको एक मात्र सरकारी अस्पताल हो । विगतका वर्षहरुबाट दिईदैं आएका सेवाहरुलाई प्रभावकारी बनाउंदै नयाँ व्यवस्थापन समिति गठन भएपछि अस्पतालमा विभिन्न सेवा थप गरि सुधारका पनि प्रशस्त पहलकदमी भएका छन जुन कुरा नाङ्गो आंखाले देख्न र सेवा लिन सकिन्छ । विगतमा नभएको एम डि ई पी (MDGP) डाक्टर ल्याएर अपरेशन सेवा शुरु गरिएको छ जसका कारण अव जटिल प्रकृतिका सुत्केरी गराउन पोखरा जानु पर्दैन, कुश्मामा नै अपरेशन हुन्छ । पोखरा जानु पर्ने बाध्यता अन्त्य गर्ने गरि थाईराईड परिक्षण सेवा शुरु गरिएको छ । विगतमा कम प्रभावकारी रहेको ५ वर्ष मुनिका बच्चाहरुको निशुल्क पोषण कार्यक्रममा यो वर्ष जेष्ठ १५ गतेसम्ममा ५९ जना बच्चाले सेवा लिर्ई सके जवकी गत वर्ष १२ महिनाभरिमा केवल १९ जना बच्चाले सेवा लिएका थिए । विगतमा रहेको न्यून गुणस्तरको एक्सरे मेशिनलाई प्रतिस्थापन गरि हाल आधुनिक एक्सरे मेशिनबाट एक्सरे भईरहेको छ । अस्पतालको आय व्ययलाई शत प्रतिशत पारदर्शि गराउनका लागि सेण्ट्रल विलिङ पद्धति (सफटवयर) लागु गरिएको छ । कर्मचारीको कामको अनुगमन तथा अस्पताल भित्र हुन सक्ने अन्य घटनाहरुको विवरण लिनका लागि सि सि क्यामेरा तथा विद्युतिय हाजिरी प्रणाली लागु गरिएको छ । जेष्ठ नागरिकको निशुल्क उपचारलाई थप प्रभावकारी बनाईएको छ । ओ पि डि सेवालाई प्रभावकारी बनाउन समितिकै पहलमा ३ जना डाक्टर थप गरिएको छ । हाल पर्वत जिल्ला अस्पतालमा ९ जना डाक्टरहरु रहेको अवस्था छ । ईमरजेन्सीमा आउने विरामीको मुटुको धडकन मापन गर्ने कार्डिओ मोनिटर मेशिन जडान गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार नेपाल सरकारको नियम अनुसार जिल्ला अस्पतालको तहमा अनिवार्य रुपमा सञ्चालन गर्नु नपर्ने सेवाहरु फार्मेसी तथा अपरेशन सेवा सञ्चालनमा ल्याएको छ । पहाडी भन्छन् “जिल्ला अस्पतालले फार्मेसी, दाँत उपचार तथा अपरेशन सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहन्न तर हामीले जिल्लावासीहरुलाई बाहिर जानु नपरोस भनेर यी सेवा सञ्चालनमा ल्याएका छौं । ” ५० शैयाको अस्पतालको रुपमा मान्यता पाएर अत्याधुनिक अस्पताल भवन निर्माण हुंदै गरेको पर्वत अस्पतालको सेवाको गुणस्तर वृद्धि भएरै हुनुपर्छ ओ पि डि मा आउने विरामीको संख्या वृद्धि भएको छ । निमित्त मे.सु. सन्तोषी थपलिया भन्नुहुन्छ, “हामीले सेवा थप मात्र गरेका छैनौं, सेवाको गुणस्तरलाई पनि बढाउंदै लगेका छौं ।” थपलियाका अनुसार यसै वर्ष रगतजन्य काम हुने दांत उपचार कक्ष तथा प्रयोगशालामा टायल राख्ने काम गरिएको छ भने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडी भन्नुहुन्छ, “स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाको तर्फबाट हालै गरिएको अध्ययनबाट पर्वत जिल्ला अस्पतालको सेवाको गुणस्तरमा व्यापक सुधार आएको छ ।, यद्यपी यतिले मात्र सेवाको गुणस्तर पुरा भएको छैन, हामीले अझै पनि सुधार गर्नुपर्ने पक्षहरु देखेका छौं, ति पक्षहरुलाई सुधार गरेर पर्वत जिल्ला अस्पताललाई उपचार लायक अस्पताल बनाउने अभियानमा छौं । ” उहाँ जोड दिएर भन्नुहुन्छ , “हामी भएका सेवालाई गुणस्तरिय बनाउने र नयाँ सेवा थप गर्ने योजनामा लागिरहेका छौं ।” अस्पताल श्रोतले जानकारी दिए अनुसार आगामी वर्ष पर्वत अस्पतालमा नवजात शिशुहरुको सघन उपचार सेवा (NICU) , निशुल्क डायलासिस सेवा तथा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने योजना बनाईएको छ ।

You might also like More from author

Leave A Reply