कोरिडोरको स्तरोन्नतीमा सेनाको सक्रियता :रेडियो कुशुम

बागलुङ,  सदरमुकाम बागलुङसँग जोडिएको मालढुंगादेखि बलेवा बिमान स्थलसम्म कालीगण्डकी कोरिडोरको स्तरोन्नतीको जिम्मेबारी पाएको नेपाली सेनाले कामलाई तिब्रता दिएको छ । कोरिडोरको ठाउँ–ठाउँमा खसेका पहिराको सफाई र दश मिटर चौडाई नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तिब्र बनाएको हो । गत जेष्ठ मसान्तसम्म सडक बिभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेबारी पाएको सेनाले बिबिध अबरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन् । झण्डै दश किलोमिटर दुरीमा रहेको बलेवा बिमानिस्थल सम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले नै थप १५ किलोमिटर सडकको स्तरोन्नतीको जिम्मेबारी पाएको छ ।
मालढुंगादेखि बलेवा बिमानस्थल सम्मको सडक स्तरोन्नतीको क्रममा मानवअधिकार र बर्षात्को समय लगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतीको जिम्मेबारी पाएको हो । बलेवा बिमानस्थल सम्मको दश किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । ‘हामीले दश किलोमिटर सडक बनाउने गरी जिम्मेबारी लिएका हौं’ निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने ‘उक्त खण्डको अधिकांश काम सकिएको छ ।’ केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउने बाहेक सबै काम सकिएको भट्टराइले दाबी गरे । बागलुङ बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतीको जिम्मा पाएको थियो ।
‘गुल्मी र बागलुङमा गरेर हामीले २५ किलोमिटर सडक स्तरोन्नतीको जिम्मेबारी पाएको हो’ भट्टराईले भने– ‘बागलुङ खण्डको अधिकांश स्थानमा काम सकिएको छ ।’ निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतहरुका अनुसार सेनाले पछिल्लो पटक पाएको जिम्मेबारी अनुसार ८ किलोमिटर सडकको स्तरोन्नतीको काम सकिएको छभने बाँकी ७ किलोमिटर सडकमा बम विष्फोट गर्नुपर्ने छ । ‘दशैं, तिहार, छठ र ठुली एकादशीले समेत हामीलाई प्रभावित ग¥यो’ भट्टराई भन्छन्– ‘कामदार घर पर्किंदा रोकिएको काम अब तत्काल सुरुवात हुन्छ ।’ पछिल्लो योजना अनुसार बागलुङ र गुल्मीमा स्तरोन्नतीको लागि सेनाले २५ करोड रुपैयाँ बजेट पाएको छ । जम्मा २५ किलोमिटर सडक स्तरोन्नती गर्ने गरी पाएको बजेट अनुसारनै काम भैरहेको प्रमुख सेनानी भट्टराईले बताए ।
कोरिडोरको बागलुङ खण्डको बुधबार बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले अनुगमन गरेका छन् । मालढुंगादेखि अर्जेवाको सुम्समा सम्मको अनुगमन गरेका पाठकले नेपाली सेनाले गरीरहेको स्तरोन्नतीको कामको प्रसंसा गरे । ‘यहीँ रफ्तारमा चल्ने हो भने आगामी आर्थिक बर्षसम्म स्रोन्नतीको काम सकिन्छ’ पाठकले भने ‘बजेटको कमी हुँदैन तर काम कति हुन्छ भनेर अनुगमन भैरहेको छ ।’
सेनाले निर्माण गरेको सडक फराकिलो बनेको र बाँकी रहेका केही स्थानमा पनि थप मेहेनत आवश्यक रहेको पाठकले बताए । ‘क्षेत्र नं १ को मुख्य सडक हो । सबैको चित्तबुझ्ने रफ्तारमा काम हुनै पर्छ’ पाठकले भने ‘हामी निरन्तर अनुगमन गछौं र आईपरेका समस्यासँग भिड्छौं ।’ पहिलेको १० किलोमिटर र पछिल्लो १५ किलोमिटर गरी जम्मा २५ किलोमिटर सडक आगामी असार मसान्तसम्म सडक बिभागलाई हस्तान्तरण गर्ने गरी काम चलिरहेको प्रमुख सेनानी भट्टराई बताउँछन् । सेनाले निर्माण गरिरहेको सडकको आगामी कात्तिक २२ गते प्रधान सेनापती पूर्णचन्द्र थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा लगायतले अनुगमन गर्ने कार्यक्रम रहेको छभने कात्तिक २३ गते रक्षामन्त्री ईश्वर पोख्रेल र अर्थमन्त्री युवराज खतिवडा लगायतले अनुगमन गर्नेछन् । उनीहरुले हवाईमार्गमार्फत कोरिडोरको अनुगमन गर्ने भट्टराईले बताए ।

You might also like More from author

Comments are closed.