रोनाल्डो भन्छन्-एउटै टिमबाट खेल्ने भए मेस्सीले भन्दा धेरै बालोन डि’ओर मैले जित्थेँ
२९ मंसिर, काठमाडौं । सोमबार राति विश्वको उत्कृष्ट खेलाडीको रुपमा चौथो पटक बालोन डि’ओरको उपाधि जितेपछि रियल मडि्रडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले भनेका छन्, यदि मेस्सीसँग एउटै टिममा हुन्थेँ भने उनले भन्दा धेरै बालोन डि’ओर मैले जित्थेँ ।
यो बर्षको उपाधिसँगै रोनाल्डो मेस्सीभन्दा एक उपाधिले पछाडि छन् । मेस्सीले सबैभन्दा धेरै पाँच पटक बेलोन डि’ओरको उपाधि जितेका छन् ।
तर, रोनाल्डो आफूलाई मेस्सीभन्दा उत्कृष्ट अलराउण्ड फुटबलर मान्छन् । ‘यो निक्कै रमाइलो हुन्थ्यो कि हामी दुवै एकै टिमबाट खेल्न पाएको भए । मेरो बिचारमा महान खेलाडीहरु एकै टिमबाट खेल्नुपर्छ । त्यसैले यदि हामी एकै टिमबाट खेल्थ्यौं भने मेस्सीले भन्दा धेरै अवार्ड मैले जित्थेँ । तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन’ उनले पत्रकारहरुसँग भने ।
‘सबैलाई थाहा छ कि मेस्सी एक महान खेलाडी हुन् । उनले पाँच पटक बेलोन डि’ओर जितेका छन् ।’
चौथो पटक अवार्ड जितेपछि उनलाई सोधिएको थियो कि तपाईंको महत्वाकांक्षा मेस्सीको अवार्डलाई माथ दिनु हुनेछ ? जसमा उनले भनेका थिए, ‘पक्कै पनि म त्यसको लागि प्रयासरत छु । तर, मैले धेरै मेहनत गर्नुपर्छ ।’
रोनाल्डोले आगामी जनवरी ९ मा फिफाको उत्कृष्ट बर्षखेलाडीको अवार्ड पनि जित्न सक्नेछन् । रोनाल्डो त्यस अवार्डको पनि प्रमुख दावेदार हुन् ।