अरु स्थानीय तहभन्दा महाशिला गाउपालिका एक कदम अगाडी छ : अध्यक्ष पौडेल

राजुप्रसाद पौडेल
अध्यक्ष
महाशिला गाउँपालिका, पर्वत

भूगोलका हिसाबले पर्वतको सबैभन्दा सानो गाउँपालिका हो महाशिला गाउँपालिका। आन्तरिक आय पनि सबैभन्दा कम छ यहाँ। महाशिला गाउँपालिका भूगोल र आयमा सानो भएपनि विगत दुई वर्षदेखि मुलुककै नमुना काम गर्ने र नयाँनयाँ योजना कार्यक्रम सार्वजनिक गर्ने पालिकाको रूपमा चर्चित छ। एक घर एक रोजगार कार्यक्रम, बाँझो जमिन पालिकाले किन्नेदेखि बाँदर नियन्त्रण अभियानका कारण यो पालिका चर्चित छ। पछिल्ला दिनमा अध्यक्ष सुत्केरी कार्यक्रमअन्र्तगत घिउ र भाले बोकेर पालिका अध्यक्ष सुत्केरीका घरघरमा पुगेको विषय पनि चर्चित बनेको छ। यसले शुरू गरेका धेरै अभियान सिको गर्दै देशका अन्य पालिकामा पनि शुरुआत भएका छन्। यसै विषयको सेरोफेरोमा रहेर नेपाल समाचारपत्र दैनिकका लागि पर्वत संवाददाता दुर्गाप्रसाद शर्माले गरेको कुराकानी

तपाईंले गाउँपालिकाको नेतृत्व सम्हाले पछि के के काम भए ?

लामो समय सम्म निर्वाचन नभएको अवस्थाका साथै नेपालमा ठूलो राजनैतिक परिवर्तनपछिको लोकतान्त्रिक गणतन्त्र र संघीय शासन व्यावस्थापछि स्थानीय सरकारको निर्वाचन हुनुले जनताका अपेक्षा धेरै थिए र विद्यमानमा पनि छन्। हामी यस महाशिला गाउँपालिकामा निर्वाचित हुनुअगाडि नै निर्वाचनको घोषणपत्र जारी गरेका थियौं।

अहिले घोषणापत्रका प्रतिवद्धता बमोजिम काम गरिरहेका छांै। हामीले महाशिला गाउँपालिकामा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण विपत् व्यावस्थापन र संस्थागत सेवा प्रवाह र शुसासन गरी समग्र विकासलाई जोड दिई यस महाशिलामा हाम्रा कार्यक्रम सञ्चालन गरेका छौं।

आज हामीले आर्थिक विकासका लागि महाशिलामा ‘एक घर एक रोजगार’ र ‘महाशिला विकास स्वयंसेवक कार्यक्रम’ सञ्चालन गरेका छांै। कृषि क्षेत्रको विकासका लागि ‘एक घर एक प्लास्टिक टनेल कार्यक्रम’ सञ्चालन गरेका छौं। पशुपालन भंैसी सुत्केरी भत्ता र पाडा पाडी संरक्षण कार्यक्रम सञ्चालन गरेका छौं। पर्यटन विकासका लागि सेभन प्वाइन्टको विकास गर्ने भन्ने अवधारणामा पैयूकोट, गोरल्याङ, चिसापानी, घुँवाकोट, फलामखानी, गंगाधर गुफा, दुक्तान बसाह क्षेत्र र महाशिलाको शिला क्षेत्रको विकास गर्ने गरी गाउँपालिकाले काम अगाडि बढाएको छ।

पर्वत जिल्लामा हाम्रो गाउँपालिका जति पर्यटकीय गन्तव्य अरु पालिकामा छैन। यो सकारात्मक कुरा हो। हामीले स्थानीय समुदायमा होमस्टेको विकाससमेत आठ स्थानमा तालिम र पूर्वाधारसमेत निर्माणमा सहयोग गरेका छौं।

आन्तरिक र बाह्य पर्यटनको मुख्य आर्थिक स्र्र्रोत पनि यसलाई मान्न सकिन्छ। यसैगरी कृषि तथा पशुपालनका क्षेत्रमा बीउ, बिरुवा र कृषि यन्त्रमा बढीमा ५० प्रतिशत छुट दिने व्यावस्था गरिएको छ।

यसै गरी सबै घरधुरी सहकारी आवद्ध भएको अवस्था यस गाउँपालिका भएको हुँदा विशेषत महिला सहकारीलाई गाउँपालिकाले आय आर्जन र संस्थागत विकासमा सहयोग गर्ने काम भएको छ।

यो सकारात्मक कुरा हो। हामीले स्थानीय समुदायमा होमस्टेको विकाससमेत आठ स्थानमा तालिम र पूर्वाधारसमेत निर्माणमा सहयोग गरेका छौं। आन्तरिक र बाह्य पर्यटनको मुख्य आर्थिक स्र्र्रोत पनि यसलाई मान्न सकिन्छ।

देशभर चर्चामा रहेका बाँदर नियन्त्रण, महाशिला रोजगार, मदिरा नियन्त्रण, कृषिलगायतका कार्यक्रमलाई कसरी व्यावस्थित गर्दै हुनुहुन्छ ?

हामीले बाँदर नियन्त्रण कार्यक्रमलाई स्थानीय समुदायसँग साझेदारी गरी समूह बनाएर कार्यक्रम गर्ने योजना छ। महाशिला विकास स्वयम्सेवक कार्यक्रमलाई हामी स्थानीय स्तरमा गाउँपालिकाले कानुन नै निर्माण गरेर गर्ने र सबै महाशिलावासीलाई रोजगारीको हक ग्यारेन्टी गर्ने गरी काम गर्दैछांै।

अब हरेक विकास निर्माणमा २० प्रतिशत महाशिला विकास स्वयंसेवक परिचालन गर्ने नीति बनाएका छौं। हामी स्थानीय तहमा रोजगारी दिन चाहान्छौं। विभिन्न विधामा काम गराउँदै छांै। हामी सबै बेरोजगारलाई अब रोजगारी सृजना गर्न ३ वटै सरकारले अभियान थाल्नुपर्दछ भन्ने सोचमा छौं।

बेरोजगारको अन्त्य र निर्मुल गर्ने दायित्व सरकारको हो भन्ने लाग्दछ। मदिरा नियन्त्रण कार्यक्रम वडा स्तरमा सञ्चालन भएको छ। यो कार्यक्रमको प्रभावकारिता महिला, घरेलु हिंसा, स्वास्थ्य र गाउँमा हुने झै–झगडा र असुरक्षासाथै बेथिति रोक्ने अभियान हो।

अब यो राष्ट्रिय बहस बनाउन जरुरी छ किनकी जसले मुलुक बेथिति भ्रष्टाचार, हिंसासाथै हाम्रा चुनावहरू भड्किला र मंहगा पनि जाँड रक्सीका कारण भएका छन्।

महाशिला जस्तो सानो गाउँपालिका वर्षमा करिब १२ करोडको रक्सी बिक्री हुँदो रहेछ। अब देशको हालत के होला तपाईं आफै भन्नुहोस्। हामी कृषि उत्पादन बढाउन चाहन्छौं र कृषि र पशुपालनमा विकास गर्नका प्रत्येक वडामा लागि कृषि फर्म बनाउन चाहन्छौ। बाँझो र खेर गएको जमिन उपयोग गर्न चाहन्छौं।

जसमा कफी र चिया खेती विकासको कामको शुरुआत गरेका छौं। हामी एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिएका छौं। यस वर्ष सबै महाशिलावासीको घरमा टनेल हुनेछन्।

हामी पाडापाडी संरक्षणको नीति बनाएर प्रति सुत्केरी भैंसी रु ५०० को भत्ता व्यावस्था गरेका छांै। हामी नीति र कानुन बनाएर संस्थागत र ठूलो स्केलमा काम गर्न चाहन्छौं।

आज हामी सडकको निर्माण देखिने काम ई–टेन्डर खोलेर कालोपत्रे गरेका छौं। अब हामीले विकास निर्माण स्थायी कामको शुरुआत महाशिलाबाट नै गर्दैछौं। अरु स्थानीय तहभन्दा हामी एक कदम अगाडि छौं।

हल्लाखल्ला गर्ने खालका योजना र कार्यक्रम सञ्चालन गरिए तर कार्यान्वयनमा धेरै समस्या देखिएका छन् भन्ने आरोप लागेको छ नि ?

हामीले राज्यले कार्यान्वयन गर्न नसकेका काम शुरुआत गरेका छांै अनि हल्ला त भइहाल्छ नि। अनि नयाँ काम गर्दा विवाद र समस्या पनि आउन सक्छन् तर त्यसलाई समाधान गर्ने आँट गर्नुपर्दछ, नेतृत्वसँग। आज हामीले महाशिला विकास स्वयम्सेवक भनेर ‘एक घर एक रोजगार कार्यक्रम’ ल्यायौ आज केन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर कार्यक्रम ल्याएको छ।

हामी विद्यालयमा दिवा खाजा भन्यौ त्यो केन्द्र सरकारले लागू गर्दै छ। एक घर एक धारा भनेका छौं। प्रदेश सरकारले त्यो नीति लिएको छ। फलामे पोल युक्त गाउँपालिका भन्यौ त्यो आज प्रदेश सरकारले नीति बनाएको छ। बाँदर नियन्त्रण र रक्सी नियन्त्रण आज सबै बहस बनेको छ।

एक शिक्षक एक ल्याप्टप र एक कक्षा १ प्रोजेक्टर प्रविधिमैत्री कार्यक्रम हामीले शुरू गरेका छांै। हरेक स्वास्थ्य संस्थामा वर्थिङ सेन्टरको व्यावस्था गरेका छौं। गाउँमा प्राथमिक सवास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा दिँदैछौं। आज गाउँपालिकले कालोपत्रे बाटो निर्माण शुरु गरेको छ।

महाशिलाको शिला क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि १ सय ८ फिटको महादेवको मूर्ति कुद्ने अन्य महत्वपूर्ण काम हामीले शुरू गरेका छौं। सबै देखिने काम गर्दा हल्ला खल्ला नभएर के हुन्छ। सबै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग प्रतिस्पर्धाका साथै सहकार्यमा सरकारको अनुभूति हुने कामको जग बसालेका छौं।

बाँदर नियन्त्रण, महाशिला रोजगार, मदिरा नियन्त्रण अभियानबीचमा नै छोड्न पर्ने अवस्था आउन लागेको छ भनेर विपक्षीले आलोचना गरिरहेका छन् ?

हामीलाई सजग बनाउने काम सबैले गर्नुभएको धन्यवाद, आलोचना हुनुमा अन्यथा पनि लिनुहुँदैन तर हामीले गरेका कामको जनताले मूल्यांकन गरेका छन्।

हामीले काम अगाडि बढाएकै छौं। कोही हिजो जस्तो भागबन्डा गरेर खान नपाएका रिसाएका हुन सक्छन्।

धेरै नगरपालिका र गाउँपालिका उपभोक्ता समिति, ठेकेदारसँग मिलेमतो गरेर डोजर लगाउने कमिसन लिने गरेको आरोप लाग्ने गरेको छ, महाशिला गाउँपालिकाले सडक सञ्जाल विस्तारमा कुन मोडलले काम गरिरहेको छ ?

महाशिला गाउँपालिकाले शुरूमा नै डोजरको बेथिति मिलेमतो हुन्छ भन्ने बुझेर काममा प्रतिस्पर्धा गराउने कामको शुरुआत र डोजरको प्रयोगमा सानो डोजरको प्रति घण्टा २ हजार २ सय र ठूलो डोजरको ४ हजार ५ सयसाथै ब्रेकरको ५ हजार ५ सय रुपियाँ भन्दा बढी नहुने र कामको प्राविधिक जाँचमा पनि पुग्नुपर्ने गरायांै सायद सबै पालिकाले यो कुराको अनुशरण पनि गरेका छन् आज हामी सडकको निर्माण देखिने काम ई–टेन्डर खोलेर कालोपत्रे गरेका छौं।

अब हामीले विकास निर्माण स्थायी कामको शुरुआत महाशिलाबाट नै गर्दैछौं। अरु स्थानीय तहभन्दा हामी एक कदम अगाडि छौं।

जिल्लाको सबभन्दा सानो गाउँपालिका महाशिला, यसका के के समस्या र चुनौती रहेका छन् ?

मैले समस्या र चुनौतीलाई अवसरको रूपमा लिएको छु। किनकी भौगोलिकरूपमा सबभन्दा अप्ठ्यारो भूगोल भएको गाउँपालिका महाशिला हो। अहिले चुनौती भनेको तीव्र बसाइसराई हो।

युवाहरू विदेश पलायन हुने यहाँको ठुलो समस्या छ। यो रोक्न सकिएको छैन। शिक्षाको गुणस्तर विकास पनि समस्या रहेको छ। यीनै मुख्य समस्या हुन्।

तपाईंले मत माग्न जाँदा गरेका वाचा र आश्वासन कति पूरा गर्नुभएको छ ? जनता कति खुसी छन्।

हामी निर्वाचनमा गरेका वाचा पूरा गर्न लागिपरेका छौं। हामीले २ वर्षमा पनि धेरै कामको जग बसालेका छौं।

आधारभूतरूपमा जनतालाई आवश्यक पर्ने धेरै काममा हामी स्रोत साधन कम भए पनि ध्यान दिएका छौं।

हामीले खुसी र सुखी विकासको कल्पना गरेका छौं। जनतालाई धेरै काममा खुसी बनाएका छौं।

महाशिलालाई अझ प्रसिद्ध गराउन के गर्दै हुनुहुन्छ ?

हामीले महाशिलाको शिला क्षेत्रलाई नेपाल सरकारको सय गन्तव्यमा पनि परेको हुँदा यसको गुरुयोजना बनाएर कामको थालनी गरेका छांै। संसारमा नै नभएको १०८ फिटको महादेवको मूर्ति कुद्ने कामको शुरुआत गर्दैछौं।

यसलाई देशको ठूलो धार्मिकस्थल बनाउन चाहन्छौं। अरु स्थलको गुरुयोजना बनाएर धार्मिक, दृश्यावलोकन, साँस्कृतिकरूपमा पनि जाति जनजातिको बसोबास भएकोले होमस्टको विकास र स्थानीय उत्पादन र मनोरञ्जन समेतको विकास गरी पर्यटकीय गन्तव्य बनाउने अभियान जारी छ।

सम्वृद्ध महाशिला बनाउन कस्ता योजना र कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ ?

मैले धेरै कुरा माथि उल्लेख पनि गरेको छु। हामीले अब महाशिला मात्र होइन देशमा राष्ट्रिय पूँजीको निर्माण गर्नुपर्दछ। अब हाम्रो कृषिलाई व्यावसायीकरण गर्नुपर्दछ।

अब व्यावसाय र उद्योग धन्दाका लागि आमनागरिकलाई सरिक गराउनु पर्दछ। शहकारीकरण सामुहिकीकरण गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारलाई सरकारले ग्यारेन्टी गर्नुपर्दछ। अब हामी समाजवादी बाटो तय गर्नुपर्दछ।

अब स्थानीय सरकारले पनि यिनै कार्यक्रम गर्नुपर्दछ। हामी महाशिलाले पनि यही बाटोतर्फ उन्मुख हुने गरी कार्यक्रम गर्नुपर्दछ भन्ने सोँच रहेको छ। अब हामी समाजवाद निर्माणको बहस महाशिलाबाट आगामी दिनमा थाल्नेछौं।नेपाल समाचारपत्र राष्ट्रिय दैनिकबाट साभार

You might also like More from author

Comments are closed.