दमेकमा आलुको सत्यनाश, किसान चिन्तित

बागलुङ,  हरेक बर्ष जेठ महिनाको मध्यमा कामको चटारो हुने जैमिनी नगरपालिका ३ दमेकका किसान यो बर्ष भने शितल तापेर दिन काटेका छन् । हिउँदे खेती उठाउन बारीमै दिन बिताउनु पर्ने समयमा किसानको दिन अग्लो रुखकको छहारीमुनी बित्ने गरेको हो । बर्षा सुरुहुनुपूर्व पाखोवारीको सबै आलु उकेर्ने दमेकको नेपानेका भीमबहादुर थापा क्षेत्रीलाई अहिले अहिले फुर्सद नै फुर्सद छ । थापाको परिवारका कसैलाई पनि कामको चटारो छैन । भीमबहादुरका परिवार मात्रै होईन दमेकका चार गाउँका सबै किसान फुर्सदमा छन् यतिवेला । काम नभएर दिन त शितल तापेर बितेको छ तर उनिहरुको मनको आगो भने दन्किरहेको छ ।
दमेकको कालापातल, नौला, देउरालीखानी, दह लगायतका गाउँका किसानको मुख्य बाली हो आलु ।यो बर्ष बैसाख महिनादेखीनै परेको बर्षा र असिनाका कारण उनीहरुको बारी रित्तै छ । बारीमा लगाएको आलुवाली असिनापानीले सखाप पारेपछि गाउँका किसान चिन्तित छन् । कामको माचो हुने समयमा शितल तापेर बस्न बाध्य भएको स्थानीय कृष्ण भुजेलले बताउनुभयो । आलुको दाना लाग्ने बेला देखिनै असिनापानीले थिचेका कारण कसैको बारीमा आलु छैन् । बर्षभरी खाने सबै खाद्यान्नको जोहो गर्न यहाँका अधिकांश किसानले आलुको भर गर्थे । खानकालागि स्वादिलो भएकाले यहाँको आलुको माग बजारमा निकै छ । ‘बारीमा फलेको आलु बेचेर घर धानिएको थियो’ स्थानीय पवित्रा थापा क्षेत्रीले भनिन्, ‘अव खाने आटोबाटो केही नहुने भयो ।’ अघिल्ला बर्ष यहाँ असिना कम पर्दथ्यो । यो बर्ष निकै ठुलो असिना परेकाले आलुबालीको पूर्ण क्षती पुगेको वडाअध्यक्ष बेद बहादुर छन्त्यालले बताए ।

चिसो मौसम भएकाले यहाँ आलु राम्रो फल्ने गरेको कृषि प्राबिधिक रविन्द्र शर्माले बताए । ‘यहाँको माटो र हावापानी राम्रो छ’ शर्माले भने, ‘व्यवसायिक आलुखेती गर्ने यहाँका किसानलाई असिनाले क्षति पु¥यायो ।’ आलु सँगै यहाँका किसानले लगाएको तरकारी बालीमा पनि ठुलै क्षती पुगेको छ । सामान्य मकै, कोदो र फापर बाहेक यहाँ अन्य खाद्यन्न फल्दैन । दैनिकी चलाउने आधार आलु र तरकारीनै मासिए पछि गाउँनै दुखी भएको छन्त्यालले बताए । ‘असिनाले आलुमात्रै खाएको छैन, बारीको माटोनै बगाएको छ’ स्थानीय तेजमाया बिकले भनिन्, ‘अब नफल्ने भएकोले भोकै बस्नुपर्ने भयो ।’ बाली नष्ट भएपछि किसानले राहतका लागि जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकार सँग माग गरेका छन् । ‘किसानको क्षतिको बिवरण संकलन भैरहेको छ’ उपप्रमुख लीला रानाले भने, ‘जे सकिन्छ, सहयोग गरौं भनेका छौं ।’ किसानले बीऊ, मल र परिश्रमको मुल्य खोजेका छन् ।

You might also like More from author

Leave A Reply