ठुलीपोखरीका लक्ष्मण सापकोटाको जय जयकार

पर्वत/विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका यहाँका एक युवालाई जन्मगाउँमा भव्य स्वागत गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका युवा लक्ष्मण सापकोटालाई आरोहणबाट फर्केर गाउँमा पुग्दा गाउँलेहरुले शुक्रवार भव्य स्वागत गरेका हुन् । परिवार, आफन्तजन, शिक्षक, विद्यार्थी लगायतले दोसल्ला, फुल माला सहित अविरजात्रा गरेर भव्य स्वागत गरेका थिए । सापकोटाले जेठ ९ गते विहीवार सगरमाथाको सफल आरोहण गर्नुभएको हो । सगरमाथा आरोहण गर्ने जिल्लाकै पहिलो व्यक्ति समेत बनेका सापकोटाले आफ्नो गाउँसँगै समग्र जिल्लाको नाम चिनाउन सफल भएको भन्दै स्वागत तथा सम्मान गरिएको स्थानीय त्रिभुवन सापकोटाले जानकारी दिनुभयो । सापकोटा दिउँसो जन्मगाउँ पुगेका थिए । सापकोटाले एशियन टे«किङ एजेन्सी मार्फत आरोहणका लागि जानुभएको हो ।
उहाँ गत चैत २२ गते काठमाण्डौबाट वेसक्याम्प तर्फ जानुभएको थियो । झण्डै दुई महिनाको अवधिसम्म विभिन्न तालिम तथा अभ्यासहरु गरेपछि जेठ ९ गते विहान सवा ५ बजे चुचुरोमा पुग्न सफल भएको बताउनुभयो । विश्वकै अग्लो सगरमाथाको उचाईमा पुग्ने आफ्नो सानैदेखिको इच्छा र चाहना ३० वर्षको उमेरमा आएर पुरा भएको उहाँको प्रतिकृया रहेको छ । अत्याधिक चिसो हुने भएका कारण १५ मिनेट मात्रै चुचुरोमा बसेर तल झरेको उहाँले बताउनुभयो ।
सापकोटाले यस अघि सन् २०१७ मा पनि सगरमाथा आरोहणका लागि प्रयास गरेको भएपनि सफल हुन नसकेको बताउँदै यस पटक आफ्नो अठोट पुरा भएको बताउनुभयो । नेपालमा सवैभन्दा बढि पर्यटन ब्यावसायलाई नै प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । विश्वकै अग्लो सगरमाथाको पहिचानलाई विश्व सामु पु¥याउन सकेमा मुलुकमा छिटै समृद्धि हुने उहाँको अनुभव रहेको छ ।

You might also like More from author

Leave A Reply