पर्वतमा क्षेत्र विकास र सांसद विकास कोषको साढे ७ करोड रकम बाँडफाँड

कुशुम समाचार/पर्वतमा यस वर्ष क्षेत्र विकास कोषमार्फत ६ करोड रकम खर्च हुने भएको छ । जिल्लाबाट निर्वाचित ३ वटै सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट विनियोजनमा सडक निर्माण तथा मर्मत कार्यलाई प्राथमिकता दिएका छन् । जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद अर्जुन प्रसाद जोशी र क्षेत्र नं. २ बाट निर्वाचित सांसद विकास लम्सालले सडकको स्तरोन्नति तथा निर्माण कार्यमा जोड दिएका हुन् ।
सांसद जोशीले सडक तर्फ १ करोड २६ लाख बजेट विभिन्न शिर्षकमा विनियोजन गरेका छन् भने सांसद लम्सालले १ करोड ३० लाख रकम सडकतर्फ विनियोजन गरेका छन् । जोशीले सवैभन्दा धेरै लुङ्गदी–भोटेडाँडा–रातमाटा–कुवापानी–पातलखर्क–दिप सडक योजना नामकरण गरी ४० लाख विनियोजन गरेका छन् भने वारीवेनी–बाँसखर्क–वनवडे सडकखण्डमा १२ लाख बजेट विनियोजन गरेका छन् । १० लाख भन्दा कमको योजना छनोट गर्न प्रावधानले नदिएकाले विभिन्न ८ सडक शिर्षकहरु तोकेर झण्डै ३० सडक योजनाहरुमा बजेट विनियोजन भएको छ ।
माग पेश गर्ने क्रममा अत्याधिक माग सडक निर्माण तथा स्तरोन्नतितर्फकै आएकाले सवैको मागलाई सम्बोधन गर्न विभिन्न शिर्षकहरु बनाएर रकम विनियोजन गरेको सांसद जोशीले बताए । जोशीले शिक्षा तर्फ २८ लाख र सिञ्चाई पुर्वाधार तर्फ ३६ लाख रकम विनियोजन गरेका छन् । ३६ लाख मध्ये सांसद जोशीले १० लाख पाङ्ग कालीगण्डकी लिफ्ट सिंचाई योजनाका लागि विनियोजन गरेका छन् । पाङ्गका स्थानीयबासीहरुले यस अघि नै परिक्षणका रुपमा कालीगण्डकी नदीबाट मोटरको सहायतामा गाउँमा पानी तानेपछि उक्त योजना निर्माणका लागि रकम विनियोजन गरेका हुन् । त्यस्तै खानेपानी पुर्वाधार तर्फ ३० लाख, सामुदायिक भवन तर्फ ३० लाख, धार्मिक सांस्कृतिक पुर्वाधार तर्फ १५ लाख, खेलकुद तर्फ १५ लाख र अन्य पुर्वाधार तर्फ २० लाख रकम विनियोजन गरेका छन् ।
त्यस्तै पर्वत क्षेत्र नं. २ बाट निर्वाचित सांसद विकास लम्सालले सडक तर्फ १ करोड ३० लाख रकम विनियोजन गरेका छन् । सांसद लम्सालले बाच्छा–फोक्सिङ्ग हुँदै भोक्सिङ–सरौँखाला सम्मको सडकमा ४० लाख रकम विनियोजन गरेका छन् । यो सवै ठूलो बजेट हो । त्यस्तै अन्य विभिन्न ६ वटा सडक शिर्षकहरुमा बजेट विनियोजन गरिएको छ । लम्सालले शिक्षा तर्फ ५० लाख, खेलकुद पुर्वाधार निर्माण तर्फ १६ लाख, सामुदायिक भवन निर्माण तर्फ ३९ लाख, कृषि तथा पशु फर्म पुर्वाधार निर्माण तर्फ १२ लाख, सिचाई कुलो निर्माण आयोजना १० लाख, ग्रामीण विद्युतिकरण तर्फ २३ लाख, खानेपानी तर्फ १० लाख र सञ्चारतर्फ १० लाख रकम विनियोजन गरेका छन् ।
अर्की समानुपातिक प्रणालीबाट सांसद बनेकी कल्पना चापागाईले आफुले विनियोजन गर्न पाउने ५० लाख रकमबाट पनि केही रकम सडक र संस्कृति संरक्षणलाई प्राथमिकता दिएको पाइएको छ । चापागाईले पञ्चेवाजा संरक्षण कार्यक्रममा ८ लाख, विभिन्न मठ मन्दिर निर्माण, मेला महोत्सव, होमस्टे प्रर्बद्धन लगायतका कार्यक्रममा जोड दिएकी छन् । खेलकुद, आमा समुह लक्षित कार्यक्रम, अपाङगता लक्षित र सञ्चार क्षेत्रलाई समेत समान रुपमा समेटिएको छ ।
सांसदहरुले विगतका वर्षहरुमा रकम विनियोजन गर्दा देखाउनका लागि एकमुष्ठ भएपनि टुक्रे योजनामा रकम सक्ने तथा आफ्ना कार्यकर्ताहरुलाई पोस्ने काम गरेको आरोप लाग्दै आएको थियो । अहिले पनि शिर्षकमा एकमुष्ठ देखाएपनि कार्यान्वयन गर्ने क्रममा विभिन्न शिर्षकमा काम हुने देखिएको छ । समयमा सम्झौता नगर्ने, आर्थिक वर्षको अन्त्यमा सम्झौता गर्ने तर काम नसक्ने जस्ता कार्यले रकमको दुरुपयोग हुने गरेको साथै अन्त्यमा बिना जाँचपास फर्छौट गर्ने जस्ता कार्यले रकम सकिने तर विकास नहुने गरेको थियो ।

You might also like More from author

Leave A Reply