धनगढी क्रिकेट लिगको विजेतालाई १५ लाख, खेलाडी दर्ता सुरु

२९ मंसिर, काठमाडौं । धनगढी प्रिमियर लिगको पुरस्कार रकम तीन गुणा बृद्धि गरेर १५ लाख पुर्‍याइएको छ । साथै आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले खेलाडीको नाम दर्ता आहृवान गरेको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नाम दर्ता गर्दै खेलाडी दर्ता प्रक्रियाको सुरुवात गरे । आगामी चैत ५ देखि आयोजना हुने प्रतियोगिताका लागि पुस १५ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्नेछन् भने पुस २३ गते ‘अक्सन’ गरिनेछ ।

लिलामीका लागि राष्ट्रिय टोलीका खेलाडीहरुलाई ५० हजार, यू-१९ राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीका लागि ३० हजार र बाहेकका खेलाडीका लागि २० हजार न्यूनतम मूल्य तोकिएको छ । यसमा बढाबढ गरेर खेलाडी किन्न सकिनेछ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । देशभरका बिभिन्न शहरको नामबाट टिमको नाम रहने अयोजकले जनाएको छ ।

अहिलेसम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंको टिम सहभागी हुने निश्चित भइसकेको छ भने बाँकी टिमको घोषणा पनि अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी दिए ।

सन् २०१० देखि सुरु भएको एसपीए कप तथा अघिल्लो बर्ष भएको धनगढी क्रिकेट लिगलाई मर्जर गरी २०-ट्वान्टी फर्म्याटको धनगढी प्रिमियर लिग आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ७ लाख पाउनेछ । नेपाली क्रिकेटमा यो अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

यस बर्षको प्रतियोगिता धनगढी क्रिकेट लिगका दिवंगत पूर्व प्रशिक्षक अर्जुन खड्काप्रति समर्पित गरिएको अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दर्शकको टिकटबाट उठ्ने रकमको १५ प्रतिशत खड्काका छोराछोरीको अध्ययनका लागि प्रदान गरिनेछ ।

प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रुपमा राखिएको अध्यक्ष शाहीले बताए ।

यसैबीच धनगढी क्रिकेट एकेडेमीले मूख्य प्रायोजक घोराही सिमेन्टसँग सम्झौता एक बर्षका लागि थपेको छ । १५ लाख रुपैयाको मूख्य प्रायोजन सम्झौतापछि प्रतियोगिताको नाम सगरमाथा सिमेन्ट डीपीएल रहनेछ ।

खेलाडी दर्ता र अक्सनका लागि एकेडेमीले नेपाली क्रिकेट प्लेयर एशोसिएसन (सिप्यान)सँग सहकार्य गर्ने बताएको छ । कार्यक्रममा सिप्यानका महासचिव पारस खड्काले अक्सनका लागि टिमहरुलाई निश्चित रकमको सीमा निर्धारण गरेर त्यसबाट आवश्यक खेलाडीहरु किन्न छुट दिने व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए ।

You might also like More from author

Leave A Reply