के हो प्रेम ?

पुजा भनौ भने आजकल बजारमा बिक्दै छ । आस्था भनौ भने यो मनमन्दिरमा होइन, पैसामा साटिदै छ । साहारा हो भनौ भने पलपलमा टुटेको छ । बिश्वासको नाम दिउ भने धोकै धोकाको खाडल देखिन्छ ।

प्रेम ऐना भनौ भन्छु कहिले । त्यो मुटुमा आफुलाई देखौ भन्छु । तर, शिशा बनि झर्लाम्म फुट्छ । टुक्रा टुक्रा बनि छताछुल्ल उठाउनै नमिल्ने गरी हरपल मुटुमै घोचेर हरपल पिडा दिन्छ । टुक्रा टुक्रा पारी छेडिदिन्छ– मुटु रक्ताम्मै पारी । अझ म थाक्दिन प्रेमको अर्थ खोज्न । निस्कन्छु बाटो तय गरी । तर, थाहा छैन त्यो प्रेमको सागरमा पुग्ने सही बाटो कुन हो भन्ने । अलमलमा पर्छु । म कुन बाटो जाउँ । निर्णय धेरै जटील छ । समय अझ बलवान छ ।  कसरी पत्ता लगाउनु त्यो बाटो । मन अतालिन थाल्छ ।

कहाँ छ त्यो प्रेम ? प्रेमको त्यो पोखरी जहाँ म पौडिन सकु । कुन होला त्यहाँ पुग्ने बाटो ? जहाँ म यात्रा तय गर्न सकु । समय बित्दै छ । म अगाडि बढिरहेको छु । तर, कताकता म अल्मल्लिरहेको छु । कताबाट जानु ? कसर पुग्नु ? त्यो प्रेमको पोखरीमा जहाँ पौड्ने मेरो अन्तिम इच्छा छ ।    सोच्छु कतै अझै प्रेम मैले मन्दिरमा पो भेट्छु कि ? त्यस्तो मन्दिर जहाँ मैले भेटी होइन, आस्थाको दियो जलाउन सकु । त्यही आशाका साथ त्यस्तै मनको मन्दिर खोज्दै छु म । तर, त्यो पनि त पत्ता लगाउनु छ । मात्र आस्थाले पुज्ने मन्दिर कहाँ भेटिन्छ र ? जहाँ पनि भेटीको कारोबार हुन्छ अचेल । म आस्था मात्रको दियो जलाउनेलाई प्रवेश नै निषेध हुन्छ ।

धेरै खोज्दैछु त्यस्तो मन्दिर तर खै मैले कतै पनि त्यो भेट्न सकेको छैन ।    एक मनले सोच्छु प्रेम त विश्वासमा पो हुन्छ । अनि त्यो विश्वासको खम्बाको तलासमा लाग्छुे । जो अटल भएर सारा विश्वासलाई धानिरहेको छ । त्यही खम्बाको सहायता ले मैले पनि एउटा विश्वासको कोठा थप्न सकु । जहाँ मैले आफ्नो प्रेमलाई सुरक्षित पार्न सकुँ । त्यो खम्बा कहाँ होला, जो यो समाजको अमानवीय हावाबाट ढल्न नसकोस । मेरो प्रेमको कोठा पनि त्यहाँ सुरक्षित रहोस् । तर, खै त्यो खम्बा पनि पाउन मलाई धेरै कठीन छ । कहाँ गाडिएको होला, विश्वासको त्यो खम्बा तलास गर्दैछु । यो धोकै धोकाले भरिएको समाजमा त्यो विश्वासलाई म कहाँ पाउला ? जसको म पुजा गर्न चाहन्छु ।

आफ्नो प्रेमको घर त्यसमै निर्माण गर्न चाहन्छु । तर, त्यो पनि भेटिने सम्भावना देख्दिन ।    यसो सोच्छु प्रेम त ऐना हो । जो आफ्नो चित्र अरुको मुटुमा सजिएको हुन्छ भने अरुको चित्र आफ्नो मुटुमा । प्रेमलाई मैले ऐनाको रुपमा हेर्न लागे । जहाँ म आफ्नो हृदय अरुको दिलमा बसेको पाउन चाहन्थे । दुर्इ मुटु एउटै हो भने गीत गाउन चाहन्थे । तर, त्यो ऐना मात्र थिएन, त्यो एउटा शिशा पनि त थियो । अनि झर्यो फुट्यो जताततै छरिबरि हुँदै आफ्नै खुट्टामा बिझ्न थाल्यो । उठाउन खोजे हातमै बिझेर झन् पिडा हुन थाल्यो । अनि के गरौ यसलाई ? कसरी जोडौं ? त्यो त मेरा अंग अंगमा मसिना कड बनि मलाई नै झन् झन् पीडा दिन पो थाल्यो । अब कसरी हेरौ म त्यो ऐनामा आफ्नो चेहरा ? जहाँ म देखिन चाहन्थे ।

त्यो त टुक्रा टुक्रा भएको देखेर निराश पनि हुन थाल्छु । कति खोजौ यो प्रेमलाई सुरक्षित गर्न कहाँ जाऊ ? कसरी म मेरो प्रेमलाई यी सबैबाट बचाई मेरो बनाउ ? यी सबै प्रस्नहरु त उठ्छन तर जवाफ नपाउँदा । मेरो प्रेमलाई राख्ने सुरक्षित स्थान नपाउँदा । लाग्छ यो प्रेम अधुरै रहनेछ । अपुरो नै रहनेछ । असुरक्षित प्रेमलाई कसैले अपहरण गर्छ । अनि कसैले अनैतिक बनाईदिन्छ । सायद आजकल प्रेम यसैगरी खतम हुन्छ । यसैगरी पतन हुन्छ ।

– See more at: http://suchanakendra.com/archives/54502.html#sthash.YOTeGrd0.dpuf

You might also like More from author

Leave A Reply